वीर अस्पतालमा ९ वर्षपछि पुनः जलनका बिरामीलाई सेवा दिने

सहयात्रा टिभी

काठमाडौं । भदौ २८,  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ ।

२०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार आजबाट ‘जलन उपचार केन्द्र’ बाट सुरु गरिएको छ । जसमा १० जनरल बेड, ५ आइसियू र तीन वटा अप्रेशन थिएटर रहेका छन् ।

नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा। केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए ।

अमेरिका लगायतका विकसित मुलुकमा अत्याधुनिक उपकरण र स्तरीय उपचारका कारण ९० प्रतिशतसम्म जलेर आएका ५० प्रतिशत बिरामीलाई बचाएको रेकर्ड छ । तर नेपालमा ४० प्रतिशत जलेका बिरामीलाई पनि बचाउन हम्मेहम्मे पर्छ ।

हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ ।

उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।

अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् । उपचारमा पटक–पटक शल्यक्रिया र मंहगो औषधि लाग्ने हुँदा उनीहरुको सर्वस्व सकिने अवस्था आउँछ ।

सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । डा पौडेलका अनुसार शुक्रबार जलन उपचार केन्द्र उद्‌घाटन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनका बिरामीलाई एक लाख सहुलियत दिने आश्वासन दिएका छन् ।

 

प्रकाशित : 13 September, 2024

प्रतिक्रिया दिनुहोस्