भोटेकोशी नदीमा गाडी खसेको आशंकामा खोजी गर्न थालियो

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकामा खोजी थालिएको छ।

शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईका अनुसार बोलेरो गाडी खसेको अनुमान छ।

स्थानीयले दुई वटा टायर देखेको भनेर खबर गरेपछि प्रहरी घटनास्थलमा खटिएका छन्।

‘टायर देखिएको भनेर खबर आएपछि सुरक्षाकर्मीहरूले खोजी थालेका छन्,’ डिएसपी भट्टराईले भने, ‘भारी वर्षाका कारणले भोटेकोशीको बहाव एकदमै बढेको छ।’

अहिले खोजी गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। सुरक्षाकर्मीहरूले क्रेनको सहयोगमा खोजी थालेका छन्।

क्रेनमा झुण्डिएर खोजी गर्ने प्रयास गरिरहेको भए पनि खोज्न कठिन भएको उनले बताए।

‘सेना क्रेनमा झुण्डिएर खोजी गर्ने प्रयासमा छ। तर नदी खोजी गर्न अनुकूल देखिएको छैन,’ उनले भने, ‘अहिलेसम्म बोलेरो गाडी हो भन्ने मात्रै आएको छ। त्‍यसमा मान्छे कतिजना, कहाँबाट आएको, नम्बर कति केही पनि खुल्न सकेको छैन।’

 

प्रकाशित : 13 September, 2024

प्रतिक्रिया दिनुहोस्