झलनाथद्धारा आफ्नै पार्टीका उपमहासचिव मेटमणिलाई कारबाही गर्न माग

सहयात्रा टिभी

काठमाडौं । असोज १, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

एक टेलिभिजन अन्तर्वार्ताको क्रममा चौधरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता भूभागहरु भारतकै हुन् भनेर देशद्रोही अभिव्यक्ति दिएको भन्दै खनालले उनलाई कारबाहीको माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो ?  यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक ? यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो ।’

खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणिलाई कारबाही माग गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा उनको नाम भने उल्लेख गरेका छैनन् । खनालले ‘हाम्रो पार्टीका एक जना उपमहासचिव’ लेखेर विज्ञप्ति निकालेका छन् ।

उपमहासचिवलाई पनि इन्भर्टेड कमाभित्र राखेर जारी गरिएको विज्ञप्तिमा खनालले लेखेका छन्, ‘उक्त ‘‘उपमहासचिव’’को उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ ।’

चौधरीले प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा ऐतिहासिक प्रमाणका आधारमा सरासर भारतको प्रमाण पुग्ने भूभागलाई नेपालले दाबी गर्नु मुर्खता मात्र भएको अभिव्यक्ति दिएका थिए । कालापानी, लिम्पियाधुरा, लिपुलेख लगायतका भूभाग समेटेर नेपाल सरकारले चुच्चे नक्सा जारी गर्नु मुर्खता मात्र भएको समेत अभिव्यक्ति दिएपछि चौधरीको आलोचना भइरहेको छ ।

प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले चौधरीको आलोचना गर्दै कारबाहीको माग गरेका थिए ।

यस विषयमा चौधरीसँग एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले स्पष्टीकरणसमेत मागेका थिए । सो स्पष्टीकरणमा चौधरीले बोल्ने क्रममा जिभ्रो चिप्लिएको जिकीर गरेका थिए ।

 

प्रकाशित : 17 September, 2024

प्रतिक्रिया दिनुहोस्