केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने

सहयात्रा टिभी

काठमाडौं । असोज २, भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।

काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो ।

लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।

परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनले बताए ।

भोलिको हकमा वेबसाइटमार्फत सम्भव नभए धरहरा परिसरमै भौतिक रुपमा टिकट काट्ने व्यवस्था मिलाउने परियोजना प्रमुख अधिकारीले बताए ।

अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

धरहरा चढ्नेहरुले माथि पुग्न र तल झर्न दुई वटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउने छन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दली क्षेत्रमा बिताउन पाउनेछन् । फोटो भिडियो खिच्न समेत दिइने परियोजना प्रमुख अधिकारीले बताए ।

शहरी विकास मन्त्रालयले धरहरा सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि बनाउँदै गर्दा मन्त्रिपरिषद्ले धरहरा खुला गर्ने निर्णय गरेकाले राम्रो तयारी भने हुन पाएको छैन ।

२०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।

नयाँ धराहरा बनेपछि काठमाडौं महानगरपालिकाले संघीय सरकारसँग धरहरा चलाउन ठेकेदारलाई जिम्मा दिनुको फेरि आफैंलाई यसको जिम्मा दिन माग गरेको थियो ।

तर, संघीय सरकार अब महानगरपालिकालाई धरहरा चलाउन र व्यवस्थापन गर्न दिने पक्षमा देखिएको छैन । २७ भदौको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरिसकेको छ ।

बाहिरबाट हेर्दा पुरानै स्वरुपको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुला रुपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।

धरहरामुनि तीनतले भूमिगत पार्किङ बनेको छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैंचा समेत बन्दैछ ।

अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम पनि नसकिंदै धरहराको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्नका लागि खुला गरिएको थिएन । फेरि प्रधानमन्त्री भएपछि ओलीले काम नसकिएपनि धरहरा चढ्न पाउने प्रबन्ध मिलाउने गरी मन्त्रिपरिषदबाट निर्णय गरेका हुन् ।

 

प्रकाशित : 18 September, 2024

प्रतिक्रिया दिनुहोस्