केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । असोज ४, प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् ।

उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दैनिक प्रशासनिक कामकाज गर्ने गरी सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने स् वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् ।

असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य स् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् ।

साथै समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

 

प्रकाशित : 20 September, 2024

प्रतिक्रिया दिनुहोस्