केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मधेशी नेताहरुको ‘इगो पोलिटिक्स’, मुद्दाहरु सेलाउँदै

सहयात्रा टिभी

काठमाडौं । राजपा गठन हुनु अघिसम्म संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सदैव संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको प्रभावमा रह्यो । उपेन्द्रले चाहे अनुसार मोर्चा चल्थ्यो । हुँदाहुँदा यतिसम्म कि राष्ट्रिय मुद्दामा मोर्चाको बैठक बस्नु अघि उपेन्द्र एक्लै आफनो पार्टीमा आफू अनुकुल निर्णय गरिसक्थे । संविधानलाइ हेर्ने दृष्टिकोण होस, बाबुराम भट्टराईसंगको एकता प्रक्रिया होस, सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबारे जवाफ दिन होस, यस्ता हरेक मुद्दामा मोर्चा भित्र उपेन्द्र हावी थिए । पछि त उनले संघीय गठवन्धन खोलेर त्यसको नेतृत्व आफैले लिए र मोर्चालाइ पनि त्यहीं भित्र छिराए । यो कुरा मोर्चा भित्रकै राजेन्द्र महत्तो, राजकिशोर यादव, अनिल झा लगायतलाइ पटक्कै मन परेको थिएन । स्वयं महन्थ ठाकुर पनि उपेन्द्रको यो कदमबाट सन्तुष्ट थिएनन तर उनी सहेर बसेका थिए । संघीय गठवन्धनले काठमाडौंमा गरेको रिले अनसनमा त राजेन्द्र महतो एक दिन पनि गएनन । महत्तो गठवन्धनको बैठकमा पनि जाँदैन थिए । त्यहाँ उनी दोस्रो श्रेणीको नेता पठाउँथे । नाकाबन्दसहितको आन्दोलनका दौरान राजेन्द्र महतो र उपेन्द्र यादवबीच चीनको झण्डा जलाएको विषयमा जुहारी नै चल्यो । आफूले बिरगंज नाका पूर्ण रुपमा ठप्प गराएपनि उपेन्द्र लगायतहरुले आफनो जिम्मामा परेका नाका टाइट गर्न नसकेको महत्तोको आरोप अहिलेसम्म छ । महत्तो र यादवले कहिल्यै एक अर्काको अस्तित्व स्वीकार गरेको देखिएन । बरु महन्थ ठाकुर र उपेन्द्र यादव थुप्रै पटक संगसंगै दिल्ली गएको देखियो । त्यो बेला महत्तो, महेन्दराय यादव स्थलगत मार्गबाट दिल्ली गएका थिए ।
कसैले उनीहरुबीचको विवादको कुरा उठाए दुवै जना त्यस्तो केही होइन भन्दै सहज रुपमा टारिदिन्थे । तर, समय धेरै घर्किन नपाउँदै एक्कासी उपेन्द्र बाहेकका मधेशी दलहरु एक हुँदै राजपा मात्र गठन गरेनन, सबै मिलेर संघीय गठवन्धनको संयोजकबाट उपेन्द्रलाइ गलहत्याए । यसबाट निकै छटपटाएका उपेन्द्रले यो बिचमा बिजय गच्छदारसंग मोर्चाबन्दीका लागि प्रत्यन गरेपनि सफल हुन सकेका छैनन । उता, नवगठित राजपाले पनि गच्छदारसंग निकटता बढाइरहेको छ । उपेन्द्र र राजपाबीच ठूलो ‘इगो’ देखिएको छ । दुवै समूह एकले अर्कालाइ देखाइदिने भन्दै त्यस्तै गतिविधिमा लागेका छन । संविधान संशोधन मात्र होइन पुनर्लेखनकै माग गर्ने उपेन्द्र यादव बिना शर्त स्थानीय तह निर्वाचनमा सहभागी भएका छन । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तक्रियामा उनले निकै भावुक अभिव्यक्ति दिएका छन । उनले भने, ‘ मैले म जन्मेको ठाउँ सम्झें, मेरो माटो सम्झें, यो सबै सोचेर म निर्वाचनमा गए’ । निर्वाचनबाटै बिगतका उपलब्धीको रक्षा हुने र नयाँ उपलब्धी पनि प्राप्त गर्न सकिने उनले बताए । उनको यो अभिव्यक्ति राजपा नेताहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगी जेठ ४ गतेसम्मको अल्टिमेटम दिएको साता दिन नपुग्दै आएको हो । राजपा नेताहरुले जेठ ४ गते भित्र संविधान संशोधन नगरे तराईमा चुनाव हुन नदिने चेतावनी दिएका छन । राजपा जे गर्छ त्यसको ठीक उल्टो गर्दैछन उपेन्द्र अर्थात उपेन्द्र जे गर्छन त्यसको ठीक बिपरित छ राजपा, ‘इगो पोलिटिक्स’ ।
आफूलाइ गठवन्धनबाट हटाएको झोंक पनि उपेन्द्रले राम्ररी फेरे । उनले महन्थले घृणित काम गरेको प्रतिक्रिया दिएका छन । संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार गर्नु घृणित काम भएको उनले बताए । उनले भने, ‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगढन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आँफै उहाँलाई सम्मानजनक रुपमा फुल, माला र अविर लगाएर पद दिन्थें नि, यो त घटिया षड्यन्त्र हो ।’
सरकारसंग औपचारिक रुपमा सम्झौता गर्ने मधेशी मोर्चाको बिघठन, गठवन्धनमा फुट, उपेन्द्रको फरक दिशा लगायतका कारणले उनीहरुको समूहगत नीति समाप्त भएको देखिन्छ । हिजो उठाएका मुद्दामा पनि खासै जोडबल गरेको पाइदैन । यसले गर्दा हिजो उनीहरुले लिएका मुद्दा र नीति गलत त थिएनन ? प्रश्न तेर्सिएको छ ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्