झ्याप्लेखोला पहिरो अपडेट : थप १५ शव निकालियो
सहयात्रा टिभी
काठमाडौं । असोज १३, नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट थप १५ शव निकालिएको छ ।
गोरखाबाट काठमाडौं आउँदै गरेको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।
उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको भेटिएको छ । आइतबार बिहानदेखि अहिलेसम्म १५ शव फेला परेको धादिङ प्रहरीले जनाएको छ ।
उक्त पहिरो शनिबारदेखि नै पन्छाउने काम भइरहेको छ । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।
यसअघि शनिबार उक्त पहिरोमा परेका १४ शव निकालिएको थियो । पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ । ती शवहरु पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।