बराहक्षेत्रस्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार
काठमाडौं । असोज १३, बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ ।
बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए ।
अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।
शनिबार बिहानदेखि उनीहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न संघीय सरकारसँग समन्वय गरेको थियो ।
प्रतिकूल मौसका कारण शनिबार उनीहरुको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए ।
आज कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुङ्गामार्फत २५ जनाको सकुसल उद्धार गरिएको उनले जानकारी दिए ।