विपद्मा परी मृत्यु हुनेको संख्या १९२ पुग्यो, ३० जना बेपत्ता
काठमाडौं । असोज १४, अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् ।
गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।
प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।
देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् । ३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।