अवरुद्ध राजमार्ग खुलाउन सरकारको तयारी शुरू

सहयात्रा टिभी

काठमाडौं । असोज १७, दसैंअघि अवरुद्ध राजमार्ग खुलाउन सरकारले तयारी शुरू गरेको छ ।

बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ ।

सैनिक उच्च स्रोतका अनुसार, बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको छ ।

त्यसका लागि बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेको छ ।

बीपी राजमार्गमा अबरुद्ध बाटो खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच पनि छलफल भएको थियो ।

छलफलका क्रममा दाहालले भकुन्डेबेंसीदेखि अगाडिको १० देखि १२ किलोमिटर सडक मर्मतका लागि प्राविधिक पठाउन कठिनाइ भएको बताएका थिए ।

रक्षा स्रोतका अनुसार, यातायात मन्त्री दाहालसँग भेट भएलगत्तै रक्षामन्त्री राईले प्रधानसेनापति अशोकराज सिग्देलसँग सडक मर्मतबारे छलफल गरेका थिए ।

नेपाली सेनाले काठमाडौं–तराईरमधेश द्रुतमार्ग निर्माणको जिम्मा पनि लिएको छ । तीन वटा सुरुङमार्ग समेत भएको द्रुतमार्गको काम अहिले ३६ प्रतिशत सकिएको छ ।

सेनाले दार्चुला–तिंकर, कर्णाली करिडोरसँगै संखुवासभा र गोरखामा पनि सडक निर्माणको काम गरिरहेको छ ।

शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र बीपी राजमार्गमा ठाउँ–ठाउँमा क्षति पुगेको छ ।

बीपी राजमार्गको काभ्रेको मंगलटार नजिकै सडक नै बगाउँदा सयौं यात्रु बाटोमै अलपत्र परेका थिए । उनीहरुमध्ये थुप्रै पैदल हिँडेर काठमाडौं आएका थिए ।

 

प्रकाशित : 3 October, 2024

प्रतिक्रिया दिनुहोस्