वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने मन्त्रालयको निष्कर्ष

काठमाडौं । असोज १७, भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ ।

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन ।

त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ ।

सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्छ । उनले अगाडि भने, ‘अस्थायी रुपमा पनि यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था छैन ।’

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि वीपी राजमार्गमा अलपत्र गरेका गाडीहरुलाई भने कुनै उपाय लगाएर दशैं अगाडि नै सिन्धुली वा काठमाडौं ल्याउने विकल्पमा काम गर्ने जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *