=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


नवरात्रको चौथो दिन आज : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

सहयात्रा टिभी

काठमाडौं । असोज २०, आज नवरात्रको चौथो दिन । दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । सृष्टिको क्रममा ब्रह्म या अण्डलाई उत्पन्न गरेकाले उनको नाम कुष्माण्डा रहन गएको हो।

त्रिनेत्रयुक्त, मस्तकमा अर्धचन्द्र, आठ हात भएकी र भुजाहरूमा नाना प्रकारका आभूषण धारण गरेकी स्वरूपको शास्त्रमा वर्णन गरिएको छ। साथै बाघमा सवार उनका भुजाहरूमा चक्र, गदा, कलश, जपमाला, कमण्डलु, धनुषबाण तथा कमल पुष्प रहेको मानिन्छ।

देवी भागवतअनुसार ब्रह्माण्डको उत्पत्तिपूर्व, जतिबेला सृष्टिकै अस्तित्व थिएन, त्यसबेला देवी कुष्माण्डाले आफ्नो हास्यबाट ब्रह्माण्ड उत्पन्न गरेकी हुनाले उनलाई साक्षात् आदिशक्ति मानिन्छ।

कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । माता कुष्माण्डालाई विशेषगरी सेता फलफूल र कपडा चढाइन्छ।

कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ। यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने विधि छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

प्रकाशित : 6 October, 2024

प्रतिक्रिया दिनुहोस्