बेल्जियमको स्थानीय निर्वाचनमा दुई नेपाली विजयी

सहयात्रा टिभी

काठमाडौं । असोज २८, बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले इतिहास रच्दै निर्वाचित भएका छन् । बेल्जियमको राजनीतिमा नवीन छलाङ मार्दै तीन दशकदेखि नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा नेपालीहरु विजयी भएका हुन् ।

दोस्रो पुस्ताको सानदार आगमनसँगै भविष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ । स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको आज सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमिल्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन् ।

निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेका थिए । तर दुई जना मात्रै विजयी भए । तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित भए । ब्रुगे नगरपालिकाको सदस्यमा निर्वाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेकी छन्। उनी सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्वाचित भएकी हुन् ।

नेपालको कास्कीमा जन्मिएकी सबैभन्दा कान्छी सदस्यको रुपमा निर्वाचित २५ वर्षीया प्रज्ञाले निर्वाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी छन् । आफ्नो बुवाको प्रेरणाबाट आफूलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन् । उनका बुवा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान सभापति एवं नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति हुन् ।

बेल्जियमको स्थानीय निर्वाचनमा यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्वाचनमा ६० प्रतिशत मत खसेको थियो ।

गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्वाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा विजयी भएका हुन् ।

आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका ढकालले आफू विजयी बनेपछि भने, ‘निर्वाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु । नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा झन ढोका खुला भएको छ ।’

अनुमानित १५ हजार नेपाली बसोबास गर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कँडेल जितको नजिक पुगेर पराजित भए ।

प्रकाशित : 14 October, 2024

प्रतिक्रिया दिनुहोस्