मनाङेले छाडेपछि भेषबहादुरले पाए मन्त्री हुने अवसर

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, लमजुङका भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्री बनेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार नेकपा एमालेलाई दिएर राजीव गुरुङ (दीपक मनाङे)लाई वनको जिम्मेवारी दिएका थिए ।

तर मनाङेले वन मन्त्रालय अस्वीकार गर्दै राजीनामा दिएपछि शेखर कोइराला–गगन थापा समूहबाट भेषबहादुरले मन्त्री हुने अवसर पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले लामो रस्साकस्सीपछि १७ भदौमा एमालेलाई सरकारमा सहभागी गराएका थिए । एमालेले मनाङेलाई हटाउनुपर्नेमा जोड दिएको थियो ।

तर आफूलाई अप्ठ्यारोमा विश्वासको मत दिएको भन्दै गठबन्धन बाहिरका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका मनाङेलाई नहटाउने अडान लिए ।

७ बाट बढाएर ९ मन्त्रालय बनाउँदै एमालेलाई ४, कांग्रेसलाई ३ मन्त्रालय दिने सहमति भयो । तर वन मन्त्रालयको कुनै औचित्य नरहेको भन्दै मनाङेले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मनाङेले राजीनामा दिएको ५० दिनपछि भेषबहादुर मन्त्री बने । यसअघि सरकारमा संस्थापन पक्षका मात्र नेताहरु थिए ।

शेखर–गगन समूहले जसरी पनि एक जना मन्त्री सहभागी गराउनैपर्ने दबाब दिएका थिए, तर गठबन्धनमा सहमति नभएको भन्दै टारेका थिए । मुख्यमन्त्री पाण्डेले शेखर–गगन समूहकै आग्रहमा भेषबहादुर मन्त्री बनाएर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

 

 

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्