रूपन्देहीमा प्रहरी र राजस्व टोलीमाथि स्थानीयद्धारा आक्रमण

काठमाडौं । कात्तिक २३, रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले अवरोध पुर्याएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको थियो । प्रहरीले भने तस्करहरुको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको दाबी गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।
सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो । अवैध चिनी बरामद गरेर फर्किने क्रममा विहीबार बेलुका करिब ६ बजे एक सय जनाभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेका थिए ।
त्यसपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगर नेतृत्वको ७० जनाको थप फोर्स झिकाइएको थियो । सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको थियो ।
त्यसपछि बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको थियो ।