समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्य गर्न माओवादी केन्द्रद्धारा छलफल

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६, नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भएको छ । माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो ।

आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो । समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् ।

२०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भए पनि हाल उसले मोर्चाबाट अलग भएको घोषणा गरेको छ । हाल यो मोर्चा निष्कृयसमेत छ ।

स्थानीय तह उपनिर्वाचनअघि मोर्चाका नेताहरुबीच छलफलसमेत चलाउने तयारी माओवादी केन्द्रको छ । तर सत्ता साझेदार दलसँग भने उपनिर्वाचनको सन्दर्भमा छलफल र सहकार्य नगर्ने माओवादीले जनाएको छ ।

जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने र आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित : 11 November, 2024

प्रतिक्रिया दिनुहोस्