राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा
काठमाडौं । मंसिर ३, मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्वर्गीय ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।
बैठकले ढुङ्गानाको निधनमा स्वदेश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा समेत दिएको छ । ८३ वर्षीय ढुंगानाको कलेजो सम्बन्धी उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।