मेडिसिटी अस्पतालले मिर्गौला प्रत्यारोपणमा लापरबाही गरेको आरोप
काठमाडौं । मंसिर ६, ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू) को क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् ।
सुब्बाको ६ असोजमा मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण गरेको एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
आफन्तका अनुसार २१ कात्तिकमा अस्पताल पुगेका लिम्बूको मिर्गौलामा इन्फेक्सन देखिएको भन्दै चिकित्सकले प्रत्यारोपण गरेको मिर्गौला शरीरबाट बाहिर निकालेका थिए । त्यस समयमा उनकी श्रीमती मात्रै अस्पतालमा थिइन् ।
डिस्चार्ज भएको केही दिनपछि सरोजको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हप्ता–हप्ता दिनमा फलोअप उपचार गराउँदै आएका सरोजको १ मंसिरमा मृत्यु भएको थियो ।
तर आफन्तले भने चिकित्सकले परिवारसँग परामर्श नै नगरी सरोजको शरीरबाट मिर्गौला झिकेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
मृतकका आफन्त कुमार राईले सरोजको फलोअप उपचारका क्रममा चिकित्सकले आफूहरुलाई जानकारी नै नदिई शरीरबाट मिर्गौला झिकेको बताए ।
उपचारमा समलग्न चिकित्सकले भने आफन्तले लगाएको आरोप गलत भएको दाबी गरे । मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सफलतापूर्वक प्रत्यारोपण भएको बताउँछन् ।
मिर्गौला प्रत्यारोपणमा हुने दुर्लभ समस्या लिम्बूमा देखिएको डा. काफ्लेको भनाइ छ । ‘उहाँहरुलाई लापरवाही लागेको खण्डमा कानुनी प्रक्रियामा जान सक्नुहुन्छ’, डा.काफ्ले भन्छन् ।