राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७ , राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प भएको छ । दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउने काम ठप्प भएको छ ।

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो ।

यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको बताउँछन् ।

विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ । समूहले कम्तीमा ९ मंसिरसम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकालेको पत्रमा उल्लेख छ ।

१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न विभाग प्रयासरत रहेको बताइएको छ । तर, अधिकारीहरु १० गतेसम्म पनि प्रणालीको समस्या हल हुनेमा आशावादी छैनन् ।

प्रकाशित : 22 November, 2024

प्रतिक्रिया दिनुहोस्