मोरङमा दुर्घटनामा दुई जनाको मृत्यु
मोरङ । मंसिर १२, मोरङका अलगअलग स्थानमा मंगलबार राति दुर्घटना भएको छ । सुन्दरहरैँचा र बूढीगंगामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडामा मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । खोर्सानेबाट केराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ३२१२ नम्बरको मोटरसाइकलले पैदलयात्री महिलालाई राति ८ बजेतिर ठक्कर दिएको थियो ।
ठक्करबाट सुन्दरहरैँचा–१० की ६४ वर्षीया सीता गुरागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।
प्रहरीका अनुसार उपचारका क्रमममा गुरागाईंको मृत्यु भएको हो । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल चालक मोरङको ग्रामथान गाउँपालिका–७ का २६ वर्षीय भुवन खप्तडीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकल चालकको साथमा लाइसेन्स (सवारी चालक अनुमतिपत्र) फेला नपरेको प्रहरीले जनाएको छ । चालकले मापसे (मादक पदार्थ सेवन) गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, बूढीगंगा गाउँपालिका–५ मा साइकलबाट लडेर १ जनाको मृत्यु भएको छ । पोटियाबाट हात्तीमुडातर्फ जाँदै गरेको साइकल राति ८ः४५ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा साइकलयात्री बूढीगंगा–५ का २५ वर्षीय जलेश्वर सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकल मृत घोषित गरेका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।