रविसँग सम्बन्धित मुद्दा तत्काल अदालत पुर्‍याउन सरकारलाई आग्रह

सहयात्रा टिभी

काठमाडौं । मंसिर १२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा तत्काल अदालत पुर्‍याउन सरकारलाई आग्रह गरेको छ ।

प्रहरीले हिरासत बसाइँ लम्ब्याएको र अनुसन्धान गर्ने भन्दै एक पछि अर्को जिल्लामा सभापति लामिछानेलाई पठाइएको रास्वपाको गुनासो छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार सिंहदरबारमा भेटेका रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सबै मुद्दा छिटो अदालत पुर्‍याउन आग्रह गरेका हुन् ।

‘सभापति ज्युलाई कस्टडीमा राख्नुभएको छ । अदालतमा बुझाउने हो कि लामो समय हिरासतमा मात्रै राख्ने रु,’ प्रमुख सचेतक परियारले प्रधानमन्त्री ओलीलाई गरेको प्रश्न उद्धृत गर्दै एक नेताले भने ।

जवाफमा प्रधानमन्त्री ओलीले प्रहरीले अनुसन्धान गरिरहेको बताएका थिए । प्रतिवाद गर्दै परियारले अनुसन्धान लम्ब्याउने र सभापतिविरुद्ध माहोल सिर्जना गर्ने गरी प्रमाण भन्दै मिडिया ट्रायल गर्ने कार्य प्रहरीबाट भइराखेको आफूहरुको बुझाइ रहेको सुनाएका थिए ।

प्रधानमन्त्री ओलीले प्रहरी अनुसन्धान प्रभावित पर्ने काम आफूबाट नहुने र प्रहरीले निश्चित समयमा मुद्दा अदालतमा लैजाने भएकाले यो प्रक्रियाप्रति फरक मत राख्नुपर्ने आवश्यकता नरहेको बताएका थिए ।

त्यसपछि रास्वपाका प्रमुख सचेतक परियारले जतिसक्दो छिटो मुद्दा अदालतमा लैजाने वातावरणका लागि भूमिका खेलिदिन आग्रह गरेका थिए ।

 

प्रकाशित : 27 November, 2024

प्रतिक्रिया दिनुहोस्