चिनियाँ विदेश मन्त्रालयले गर्यो ओली भ्रमणको औपचारिक घोषणा
काठमाडौं । मंसिर १४, चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीको चीन भ्रमण औपचारिक रूपमा घोषणा गरेका हुन्।
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार दिउँसो आफ्नो वेबसाइटको कुटनीतिक तालिकामा यसबारे जानकारी अद्यावधिक गरेको छ ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ देखि २० (डिसेम्बर २–५) सम्म चीनको औपचारिक भ्रमणमा जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।
भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीसहित ८७ जना रहने छन् ।
विहीबारको मन्त्रिपरिषद बैठकले ओलीको भ्रमण स्वीकृत गरेको थियो ।