सीताराम विवाह सम्पन्न, आज ५६ व्यञ्जन खुवाएर अयोध्याको जन्तीलाई विदाई गरिने

सहयात्रा टिभी

जनकपुरधाम । मंसिर २२, सीताराम विवाह पञ्चमी अन्तर्गत शुक्रवार राति जानकी मन्दिरमा बनाइएको भव्य सुसज्जित विवाह मण्डपमा भगवान श्रीराम र माता सीताबीच विवाह गराइएको छ ।

त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्षझै यस शवर्ष पनि वैवाहिक समारोह मनाइयो । वैवाहिक समारोह हेर्न लाखौं श्रद्धालु, साधुसन्त र भक्तजनहरू उपस्थित थिए ।

यसवर्ष भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट करिब पाँच सयको संख्यामा जन्ती समेत आएका थिए । साताव्यापी विवाह पञ्चमी अन्तर्गत शुक्रवार दिउँसो स्वयंमवर र राति विवाह सकेपछि आज रामकलेवा विधि गरिदैछ । यस अवसरमा जानकी मन्दिरमा विशेष भण्डारा आयोजना हुन्छ ।

अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई ५६ व्यञ्जन खुवाएर विदाई गरिन्छ । उनीहरुलाई दोसल्ला, कमन्डल र नगद दक्षिणा दिएर सम्मानपूर्वक बिदा गर्ने परम्परा छ । जसलाई ‘रामकलेवा’भनिन्छ । विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुनेछ ।

श्रद्धालुलाई सास्ती

वैवाहिक गीतसंगित तथा भगवान श्रीराम र सीताबीचको विवाह हेरेर श्रद्धालुहरु रात विताए । अत्यधिक भीडका कारण टाढाबाट आएका कैयौं श्रद्धालुहरु जानकी मन्दिरमा प्रवेश नै पाएनन् ।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि व्यबस्थापनि फितलो देखियो । बास र खानाको व्यवस्थापन प्रदेश सरकारले गरेको थियो । तर सोचेभन्दा बढी श्रद्धालुहरु आएकाले जनकपुरधाम अस्तव्यस्त बन्यो । कैयौं श्रद्धालुहरु सडकमा रात विताउन बाध्य भए ।

 

प्रकाशित : 7 December, 2024

प्रतिक्रिया दिनुहोस्