रविसहितको फैसला मिति नजिकिएसँगै सुरक्षा व्यवस्था कडा
काठमाडौं । पुस २४, कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट बहस चलिरहेका बेला निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अदालत बाहिर सोमबार र मंगलबार भएको गतिविधि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा हुनसक्ने सम्भावित हुलदंगालाई मध्यजनर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
पोखराको शहीदचोक, जिल्ला अदालत आसपास राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, रत्नचोक, जिल्ला मालपोत कार्यालय, मासबार हुँदै मुख्यमन्त्री कार्यालयतर्फ छिर्ने मुखमा ठूलो संस्थामा प्रहरी परिचालन गरेर मानिसहरूलाई छिर्न रोकिएको छ ।
यी ठाउँमा अत्यावश्यकबाहेक सवारी साधन जान रोक लगाइएको छ भने अदालती वा प्रशासनिक कामका लागि जानेहरूले पनि अनिवार्य कागजात नदेखाई जान दिइएको छैन ।
अदालत बाहिर सोमबार र मंगलबार अनपेक्षित गतिविधि भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । त्यस्तै, बसह सकिने बेला नजिकिएपछि झनै भीड जम्मा हुनसक्ने आशंका प्रहरी प्रशासनको छ ।
त्यसैगरी मंगलबार केही प्रतिवादीको थुनछेक बहस अझै बाँकी रहेकाले फैसला आउनसक्ने सम्भावना नरहे पनि रविको समर्थकहरूमा फैसला आउनसक्ने हल्ला फिँजिएको थियो । त्यसैले केही समर्थक रविलाई अदालतबाट प्रहरी कार्यालय लैजानुअगाडि नै जम्मा भएका थिए ।
हात हल्लाउँदै निस्कन चाहेका रविलाई छेकेर प्रहरीले कार्यालय लगेपछि केही समर्थकले नारा लगाउँदै हल्ला गरेका थिए । उनीहरूलाई प्रहरीले तितरबितर बनाएको थियो । फैसलाको मिति नजिकिँदै गर्दा यस्तो दृश्य फेरि पनि दोहोरिनसक्ने देखेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले बताएको छ ।