नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र बैठक आजदेखि काठमाण्डौमा

सहयात्रा टिभी

काठमाडौं । पुस २६, नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाण्डौमा शुरू भएको छ ।

विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि शुरू भएको हो ।

बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

उहाँले नेपालको आयात–निर्यात र व्यापारका हिसाबले भारत महत्त्वपूर्ण छिमेकी देश भएकाले छलफल निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता अधिकारीले नेपाल भारतबीच केही समयदेखि व्यापार र पारवहनमा देखिएका समस्याहरू समाधान गर्ने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो ।

बैठकमा भारतका प्रतिनिधिहरू सकारात्मक भएर सहभागी भएकाले उपलब्धिमूलक हुने प्रवक्ता अधिकारीले विश्वास व्यक्त गर्नुभएको छ ।

यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ुब्रेक थ्रुु हुने विश्वास गरिएको छ । बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नसमेत माग गरेका छन् ।

नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्‍याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तर संयन्त्रको बैठक भोलिसम्म चल्नेछ ।

 

प्रकाशित : 10 January, 2025

प्रतिक्रिया दिनुहोस्