गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ ६, गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

सो सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि केही घण्टा ढिलो युद्धविराम सम्झौता कार्यान्वयनमा आएको हो ।

यससँगै १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ । तीन चरणमा सम्पन्न गरिने भनिएको सम्झौताको पहिलो चरण आजबाट सुरु भएको हो ।

सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । सट्टामा इजरायलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

उनीहरूलाई केही साताभित्र रिहाइ गरिनेछ । सूचीमा रहेका ३३ मध्ये तीन युद्धबन्दी आजै रिहा गरिने हमासले जनाएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्यागरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढी प्यालिस्टिनीको ज्यान गइसकेको छ ।

 

 

प्रकाशित : 19 January, 2025

प्रतिक्रिया दिनुहोस्