एमालेका ५९ जनाले रोजे भीम रावलको मातृभूमि जागरण अभियान
काठमाडौं । माघ ७, नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले पार्टीबाट निष्कासित डा. भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गर्दै एमालेबाट बाहिरिएका छन् ।
एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले रावलको अभियानमा जोडिने घोषणा गर्दै सामूहिक रुपमा एमाले छाडेका हुन् ।
उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् । विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम छ ।
अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो ।
उनीहरूले रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।