आज देशभरको मौसम सफा रहने

सहयात्रा टिभी

काठमाडौं । माघ १०, हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू-भागमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रकाशित : 23 January, 2025

प्रतिक्रिया दिनुहोस्