रविले दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता

काठमाडौं । माघ १४, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
रवि जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।
जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम उच्च गएको रास्वपा सभापति लामिछानेका कानुन व्यवसायी डा. नारायण कडेंलले जानकारी दिए ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए ।
पोखराबाट धरौटीमा माग भएसँगै काठमाडौं, चितवन र बुटवलबाटसमेत रविसँग धरौटी माग भएको छ । एकपछि अर्को ठाउँमा धरौटीमा माग भएसँगै उनले उच्च अदालत पोखरामा निवेदन दायर गरेका हुन् ।
उच्च अदालत पोखराका उपरजिस्ट्रार तथा सूचना अधिकारी निल पनेरुले लामिछानेको निवेदन दर्ता भएको र अब त्यो निवेदनउपर कारबाही प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।