महिलाविरुद्धका विभेदजन्य हिंसा र अवरोध तोड्न जरुरी : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । फागुन २४, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक रहेको बताइन् ।
नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताइन् ।
उनले विगतदेखि नै आफू महिला अधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।