आईजीपी कुँवरको आज बिदाइ, नयाँ आईजीपी नियुक्त गर्न ४ बजे मन्त्रिपरिषद बैठक

काठमाडौं । चैत ४ , सरकारले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) चयन नगर्दै बहालवाला आईजीपीसहितका उच्च अधिकृत बिदा हुँदैछन् ।
आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएको छ । उक्त बैठकले नेपाल प्रहरीमा आज राति १२ बजेबाट रिक्त हुने र भोलि बहाली हुने गरी ३१ औँ आईजी नियुक्त गर्दैछ ।
नेपाल प्रहरी प्रधान कार्यालयले त्यही समयमा आईजी बसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए । उनीहरू प्रहरी सेवा नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुन लागेका हुन् । आज बिदाई कार्यक्रम तय गरेको भए पनि नयाँ आईजीपीको टुंगो नलागेकाले स्वागत भने भोलि हुने प्रवक्ता आचार्यले जानकारी दिए । मन्त्रिपरिषद्ले नयाँ आईजी नियुक्त गरे पनि दर्ज्यानी चिह्न (फुली) लगाएपछि मात्रै पदभार सम्हाल्ने प्रचलन छ ।
बिदा हुने आईजीले जनपद प्रहरी समूहतर्फका वरिष्ठतम एआईजीलाई आफ्नो कार्यभार (चार्ज) बुझाउने प्रचलन छ । वर्तमान आईजी कुँवर र उनका व्याचीको बिदाइपछि एआईजी दीपक थापा वरिष्ठतम एआईजी रहन्छन् । नयाँ आईजीको प्रतिस्पर्धामा दीपक थापा, टेकबहादुर थापा र सुदीप गिरी छन् । उनीहरु तीनै जना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् ।
एआइजीहरु टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि आजै बिदाइ हुनेछन् । डीआईजीहरुमा गण्डकी प्रहरी प्रमुख भोलाबहादुर रावल, सुदूरपश्चिम प्रहरी प्रमुख गणेश चन्द, उपत्यका प्रहरीका ट्वाइसी ध्रुव राउत पनि आजै बिदाइ हुँदैछन् ।