काठमाडौंको वायु प्रदूषण आज पनि विश्वकै उच्च

सहयात्रा टिभी
काठमाडौं । चैत २७,  काठमाडौं उपत्यकामा विगत दुई सातादेखि वायु प्रदूषण मानव स्वास्थ्यका लागि खराब रहँदै आएको छ ।
वायु गुणस्तर मापन गर्ने आइक्यू एअरले बिहान सवा ७ बजे गरेको मापनअनुसार नेपालको राजधानी काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९२ छ । यसलाई अस्वस्थ अवस्था मानिन्छ । वायु प्रदूषणका हिसाबले नेपालको काठमाडौंपछि भारतको राजधानी दिल्ली विश्वको दोस्रो नम्बरमा छ । दिल्लीको एक्यूआई १७६ छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनको वुहान शहरको एक्यूआई १७१ छ ।
वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि स्वास्थ्यका लागि खतरनाक तह मानिन्छ । विगत लामो समयदेखि पानी नपर्नु र काठमाडौँ उपत्यका आसपास क्षेत्रका जङ्गलमा डढेलो लागेका कारण वायु प्रदूषण बढेको मौसमविद्ले बताएका छन् ।
यस्तै, स्वास्थ्य मन्त्रालयले पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब रहेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्कको प्रयोग गर्न आग्रह गरेको छ । यस्तै, घरमा बस्दा पनि झ्याल ढोका लगाएर बस्न भनेको छ ।

प्रकाशित : 9 April, 2025

प्रतिक्रिया दिनुहोस्