तीनकुने घटनामा संलग्न सन्तोष राजावादी पक्राउ

काठमाडौं । बैशाख ६, चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक व्यक्ति पक्राउ परेका छन् । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको हो ।
३४ वर्षीय सिलवाललाई राति नै जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ ।
तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा उनी पनि सहभागी भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार निषेधित क्षेत्र तोड्न तम्सिनेमा उनी पनि एक थिए ।
राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । त्यसक्रममा भएको आगजनी र प्रहरीको गोली प्रहारबाट एक–एक जनाको मृत्यु भएको थियो । साथै पार्टी कार्यालय, सपिङ कम्प्लेक्स र अन्य सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
तोडफोड र आगजनीमा संलग्नहरुलाई खोज्ने क्रममा प्रहरीले सन्तोष सिलवाललाई पनि निगरानीमा राखेको थियो । सोही क्रममा सीआईबी टोलीले उनलाई काठमाडौं महानगरपालिका ३२ मा पर्ने कोटेश्वरको महादेवस्थानस्थित आफन्तको घरबाट नियन्त्रणमा लिएको थियो ।
तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । प्रहरीले सुरुवाती क्रमदेखि अहिलेसम्म करिब २ सय जनालाई पक्राउ गरे पनि स्क्रिनिङ गरेर धेरैलाई छाडेको छ ।
पक्राउ परेकामध्ये अपराधमा संलग्नलाई मात्रै म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । अहिलेसम्म ८२ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।