एनआरएनएको नयाँ कार्यसमिति अध्यक्षमा महेशकुमार श्रेष्ठ चयन

काठमाडौं । बैशाख २१, शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् एकताको महाधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । शनिबार र आइतबार काठमाडौंको हायात रिजेन्सीमा आयोजित महाधिवेशन नयाँ नेतृत्व चयन गरेको छ ।
संघको उपाध्यक्षमा खगेन्द्र दाहाल, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु (तगेला) र बुद्धिसागर सुवेदी चयन भएका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ चयन भएकी छिन् भने महासचिवमा बाबुराम लामा छन् । यसैगरी खुला सचिवमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे छन् ।
सचिव खुला महिलामा देवकी खत्री गुरुङ र कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् ।
यस्तै सहकोषध्यक्ष खुलामा कृष्णप्रसाद पोख्रेल चयन भएका छन् । सहकोषध्यक्ष महिलामा भने उम्मेदवारी नपरेको बताइएको छ । महिला संयोजकमा रशमी थापा र युवा संयोजकमा भीमसेन थापा निर्विरोध छन् ।ओसेनिया क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना निर्विरोध छन् ।
सर्वोच्च अदालतले एक वर्षअघि २१ चैत २०८० मा घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको थियो । साथै, आदेशमा २०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दशौं महाधिवेशन खारेज गर्न पनि भनिएको थियो ।
सोही अनुसार उनले एकताको महाधिवेशन आयोजना गरेका हुन् । तर, डा. बद्री केसी नेतृत्वमा रहेको एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले यो महाधिवेशनलाई मानेको छैन ।
केसी नेतृत्वको कार्यसमितिलाई पनि सर्वोच्चकै अर्को इजलासले कामकाज अघि बढाउन नरोक्नू भन्ने अन्तरिम आदेश दिएको थियो ।
यसपटक केसीसँग पराजित आरके शर्मा र महेश श्रेष्ठ घले नेतृत्वको महाधिवेशनमा सहभागी भएका थिए । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाधिवेशन उद्घाटन गर्दै मन्त्रालयले मान्यता दिने एनआरएनए यही हुने बताएकी थिइन् ।
यसैगरी एसिया प्रशान्त क्षेत्रीय संयोजकमा डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजकमा प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय संयोजकमा डिलुराम पराजुली र ओसेनिया क्षेत्रीय संयोजकमा इर्सद अहमद चयन भएका छन् ।
अफ्रिका क्षेत्रीय संयोजकमा भने उम्मेदवारी नपरेको उल्लेख छ ।