सर्वोच्चद्धारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ

सहयात्रा टिभी

काठमाडौं । जेठ २ ,सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए ।

तर उक्त रिट सर्वोच्च प्रशासनले आज दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

उनका अनुसार सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको हो ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेका समाचारहरु सार्वजनिक भएका थिए । यही चर्चाबीच गभर्नर छनोट समितिका सदस्य समेत रहेका पौडेलले सो पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : 16 May, 2025

प्रतिक्रिया दिनुहोस्