आगामी तीन दिन पनि पानी पर्ने, मनसुन समयमै भित्रिने संकेत

काठमाडौं । जेठ ७, पछिल्ला केही दिनयता देशभरि नै बदली र वर्षाको क्रम जारी छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको संयुक्त प्रभावले हाल नेपालमा वर्षा भइरहेको हो । र यस्तो मौसम आगामी तीन दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
हालको वर्षाको प्रवृत्ति हेर्दा यस वर्ष मनसुन नेपाल भित्रिन ढिला नहुने प्रारम्भिक अनुमान गरिएको छ। वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले पनि जलवाष्पयुक्त हावाको हालको चालले मनसुनको जस्तै ढाँचा देखाएको र यसले मनसुन समयमै भित्रिन सक्ने संकेत गरेको बताए। यद्यपि, उनले प्रि-मनसुन वर्षाकै आधारमा मनसुन छिटो वा ढिलो हुने यकिन गर्न नसकिने स्पष्ट पारे। “वायुमण्डलीय विज्ञान जटिल हुन्छ,” अर्यालले भने, “समग्र विश्वव्यापी प्रणालीलाई हेर्दा यसपालि मनसुन भित्रिन ढिलो नहुने अनुमान गरिएको हो।”
नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ । जसअनुसार करिब ११२ दिन मनसुन सक्रिय रहन्छ। मनसुन अवधिको वर्षा कृषि, विशेषगरी धान खेतीका लागि महत्त्वपूर्ण मानिन्छ। तर, यससँगै बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको जोखिम पनि बढ्ने गर्दछ।
कसरी भित्रिन्छ मनसुन ?
मौसमविदहरूका अनुसार, मनसुनको उत्पत्ति सोमालियाबाट चल्ने हावा भूमध्य सागर र हिन्द महासागर हुँदै दक्षिण एसियामा प्रवेश गरेपछि हुन्छ। बंगालको खाडी र अरब सागर हुँदै यही जलवाष्पयुक्त हावा नेपाल भित्रिएर मनसुन सुरु गराउँछ। यसका दुई हाँगा हुन्छन्; एउटा भारतको मध्यभाग हुँदै पश्चिमतिर लाग्छ भने अर्को बंगालको खाडीबाट नेपाल प्रवेश गर्छ।
वरिष्ठ मौसमविद् अर्यालका अनुसार, हाल मनसुनी वायु श्रीलंका आसपास आइपुगेको छ र यो भारतको केरला, सिक्किम हुँदै नेपालको पूर्वी भागबाट भित्रिने गर्छ। “विश्वव्यापी प्रणालीमा अवरोध नआए मनसुन समयमै वा छिटो पनि भित्रिन सक्छ, तर प्रणाली रोकिएमा ढिलाइ पनि हुन सक्छ,” अर्यालले थपे। मौसमविदहरूले विभिन्न हावापानीका प्रणाली र मापदण्डका आधारमा मनसुन भित्रिएको घोषणा गर्दछन्।
यस वर्षको मनसुन अवधिमा नेपालमा वर्षा र तापक्रम दुवै औसतभन्दा बढी हुने पूर्वानुमान गरिएको छ।