ग्वार्को ओभरपास निर्माण अन्तिम चरणमा, वर्षाले कालोपत्रको काममा बियाँलो

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, ललितपुरको ग्वार्कोमा बनिरहेको चक्रपथको पहिलो फ्लाइओभर (ओभरपास) को निर्माण कार्य लगभग सकिएको छ। अब मुख्य रूपमा कालोपत्रे गर्ने काम मात्र बाँकी रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जानकारी दिएको छ। तर, मौसममा आएको परिवर्तन र पानी परिरहेकाले कालोपत्रेको काम तत्काल सुरु हुन सकेको छैन।

केन्द्रका इन्जिनियर प्रदीप भण्डारीका अनुसार, ओभरपासको मुख्य भौतिक संरचनाहरू सबै बनिसकेका छन्। यदि मौसमले साथ दिए र लगातार ठूलो पानी परेन भने जेठ महिनाभित्रै कालोपत्रेको काम सकाउने लक्ष्य राखिएको छ। “सानोतिनो पानीले खासै फरक पार्दैन, तर कालोपत्रे गर्नका लागि पानी परेपछि बाटो सुक्नुपर्छ, नत्र समस्या हुन्छ,” इन्जिनियर भण्डारीले भने।

कालोपत्रेको काम सकिएपछि सडक मार्किङ गर्ने, रङ लगाउने, ट्राफिक चिन्हहरू राख्ने र बत्ती जडान गर्ने जस्ता कामहरू गरिनेछन्। यी कामहरू सामान्य भए पनि हाल वर्षाका कारण मुख्य काम कालोपत्रे नै चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

यसअघि गत माघ महिनामा ओभरपासको सातदोबाटोतर्फको एउटा पर्खाल (रेनफोर्सड अर्थ वाल) मा प्राविधिक समस्या देखिएपछि त्यसलाई भत्काएर पुनः निर्माण गरिएको थियो। करिब ४० मिटर लामो उक्त पर्खालमा देखिएको खाली ठाउँलाई सुधार गरिएको हो। सो काम सकिएपछि बेस र सब-बेस राख्ने तथा पर्खाल र पुल जोड्ने ‘एप्रोच स्ल्याब’ राख्ने काम पनि सम्पन्न भइसकेको छ। सडक छेउमा पर्खाल (प्यारापिट वाल) निर्माण पनि सकिएको छ।

यो ओभरपास निर्माणको सम्झौता २०७८ फागुन १२ गते भएको थियो र सुरुमा २०८० फागुन ११ भित्र सम्पन्न गर्नुपर्ने थियो। तर, तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्म र त्यसपछि तेस्रो पटक २०८१ पुस ८ गतेसम्मका लागि म्याद थप गरिएको थियो। तर, उक्त अवधिमा पनि काम सम्पन्न हुन सकेन। सुरुमा डिजाइनमा समस्या देखिएपछि निर्माण कार्य रोकिएको र पुनः डिजाइन गर्नुपर्दा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ।

पटक-पटक म्याद थप्दा पनि काम नसकिएपछि गत पुस ९ गतेदेखि निर्माण कम्पनीले हर्जाना तिरेर काम गरिरहेको छ। कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले दैनिक करिब ८५ हजार रुपैयाँ हर्जाना तिर्दै निर्माण कार्य अघि बढाइएको हो। यस हिसाबले निर्माण कम्पनीले कुल लागतको १० प्रतिशत अर्थात् करिब १ करोड ७० लाख रुपैयाँसम्म हर्जाना तिर्नुपर्ने देखिन्छ।

आशीष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यो ओभरपास निर्माणको ठेक्का लिएको हो। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले भने जेठ महिनाभित्र ओभरपास निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी गरेका छन्।

प्रकाशित : 22 May, 2025

प्रतिक्रिया दिनुहोस्