दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

 

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड अनियन्त्रित बनेको बताउने गरेको छ । प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

प्रहरीले थपिएको यही अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदातलमा दर्ता गरिसक्नुपर्छ ।

प्रकाशित : 22 May, 2025

प्रतिक्रिया दिनुहोस्