द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउन आयोगद्धारा आग्रह

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आग्रह गरेको छ ।

पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट रहेको शुक्रबार सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

‘नेपाल सरकारले विगत दुई वर्षदेखि रिक्त रहेको संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरु गठन गरेको सन्दर्भमा द्वन्द्वपीडितहरूले आयोग गठन प्रक्रियाप्रति गरेको असहमतिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट छ ।’

विवाद र असहमतिलाई वार्ता र संवादका माध्यमबाट नै निकास दिन सकिने हुँदा द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउनु आवश्यक रहेको आयोगले बताएको छ । ‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन विगतमा गरिएका प्रयासहरुको असफलताबाट पाठ सिक्दै पुनः सो नियति नदोहोरियोस् भनी सम्बद्ध सबै पक्ष गम्भीर हुनु आवश्यक छ,’ आयोगले विज्ञप्तिमार्फत् भनेको छ ।

सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्ने कुरामा आयोग दृढ रहेको पनि विज्ञप्तिमा बताइएको छ ।

 

 

प्रकाशित : 22 May, 2025

प्रतिक्रिया दिनुहोस्