दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध

सहयात्रा टिभी

नवलपरासी । जेठ १०, गएराति परेको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकै सडकको करिब ८ मिटर भाग भासिएपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनुपम श्रेष्ठका अनुसार, केही दिनअघि मात्रै कालोपत्रे गरिएको उक्त सडकको एक भाग उप्किएर भासिएको हो। हाल पानी पर्न रोकिएकाले सडक खुलाउने प्रयास तीव्र गतिमा भइरहेको उनले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पूर्वबाट पश्चिमतर्फ जाने र पश्चिमबाट पूर्वतर्फ आउने सवारीसाधनहरू बर्दघाट र दुम्किबास क्षेत्रमा रोकिएका छन्। यसका कारण सयौंको संख्यामा यात्रुहरू बिचल्लीमा परेका छन्। सडक विभाग र स्थानीय निकायको समन्वयमा अवरुद्ध सडक खुलाउन डोजर लगायतका उपकरणहरू परिचालन गरिएको छ, तर भासिएको भाग ठूलो भएकाले सडक सञ्चालनमा आउन केही समय लाग्ने अनुमान गरिएको छ।

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा धैर्यधारण गरी सडक खुल्ने प्रतीक्षा गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ। यस घटनाले राजमार्गको गुणस्तर र प्राकृतिक विपद्का बेला पूर्वाधारको जोखिमलाई पुनः उजागर गरेको छ।

 

प्रकाशित : 24 May, 2025

प्रतिक्रिया दिनुहोस्