निजामती विधेयकप्रति कर्मचारीको असन्तुष्टि : सामान्य प्रशासन मन्त्रालयमा धर्ना

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकका व्यवस्थाहरू कर्मचारीमैत्री नभएको उनीहरूको जिकिर छ।

आन्दोलनरत कर्मचारीहरूले सेवा अवधि पुगेका कर्मचारीको एक तह बढुवाका लागि हाल प्रस्तावित ७ वर्षको सट्टा ५ वर्ष कायम गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एकपटकका लागि आफ्नो सेवा रोज्ने अवसर दिनुपर्ने लगायतका माग राखेका छन्। धर्नामा विशेषगरी नायब सुब्बा (नासु) र खरिदार तहका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको छ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले स्थानीय र प्रदेश तहमा कार्यरत कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने तथा तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको स्पष्ट परिभाषाभित्र समेट्नुपर्ने माग पनि आफूहरूको रहेको बताए ।

विधेयकले कर्मचारीको मनोबल घटाउने भन्दै प्रदर्शनकारीहरूले आफ्ना मागप्रति सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यसैबीच, मुख्यसचिव र सचिवहरू लगायतका उच्चपदस्थ कर्मचारीहरूले पनि विधेयकमा प्रस्तावित २ वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था हटाउन लबिङ गरिरहेका छन्।

प्रकाशित : 25 May, 2025

प्रतिक्रिया दिनुहोस्