सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरे

काठमाडौं । जेठ ११, सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् ।
अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।
सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूको भनाइ छ ।
उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।
सहकारी पीडित बचतकर्ता महासंघले तयार गरेको प्रस्ताव तुरुन्त कार्यान्वयन गर, बिचौलिया खडा गरी जग्गा सेटलमेन्टको नाममा १० लाखको जग्गा ४० लाखमा धम्क्याउँदै पीडितलाई भिडाउन बन्द गर, कोष खडा गरेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
नाङ्गो हुनु रहर नभएर बाध्यता भएको भन्दै उनीहरूले सहकारी पीडितको माग पूरा नभए अझ नाङ्गो हुन तयार रहेको बताएका छन् ।