क्रियाशील सदस्यता र गृहमन्त्री प्रकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक बस्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सभापति देउवाले मुख्यतया क्रियाशील सदस्यताका विषयमा छलफल गर्न यो बैठक बोलाएका हुन्।

बैठकमा महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले क्रियाशील सदस्यता नवीकरणको पछिल्लो अवस्था र प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गर्नेछन्।

यसका साथै, बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र विशेषगरी गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको पक्राउ प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय मुछिएको भन्दै उनको राजीनामाको माग उठिरहेको विषयमा पनि गम्भीर छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए। केही कांग्रेस नेताहरूले मन्त्री लेखकलाई निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिन सुझाव दिइसकेको सन्दर्भमा यो विषयले बैठकमा प्राथमिकता पाउने देखिन्छ।

प्रकाशित : 26 May, 2025

प्रतिक्रिया दिनुहोस्