माओवादी केन्द्र र गंगानारायण श्रेष्ठको नेसपाबीच एकता घोषणा आज

काठमाडौं । जेठ १२, नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को एक खेमाबीच आज पार्टी एकता हुँदैछ। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११:३० बजे एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ।
नेसपाका अध्यक्ष महिन्द्र राय यादव एकता प्रक्रियाबाट पछि हटेपछि नेता गंगानारायण श्रेष्ठले आफ्नो समूहलाई माओवादी केन्द्रसँग एकीकरण गर्न अग्रसरता लिएका हुन्। श्रेष्ठले नेसपाका २९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।
गत आम निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवारहरू माओवादी केन्द्रको चुनाव चिह्न (हँसिया हथौडा) लिएर प्रतिस्पर्धा गरेका थिए। त्यतिबेलै दुई दलबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको थियो। तर, अध्यक्ष यादवले एकताका लागि अनिच्छा देखाएपछि श्रेष्ठ पक्षले पुरानो सहमतिलाई कार्यान्वयन गर्न लागेको हो।
पार्टी एकता घोषणा सभालाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत दुवै पक्षका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो एकतासँगै नेसपा औपचारिक रुपमा विभाजित हुने देखिएको छ।