संघीय संसदका दुवै सदनको बैठक बस्दै, अवरोध गर्ने विपक्षीको तयारी

सहयात्रा टिभी

काठमाडौं । जेठ २०, सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। जेठ १५ गते बजेट प्रस्तुत भएपछि पहिलोपटक बस्न लागेको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूले बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।

 

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन्। गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरू समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिनको माग उठेको हो।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने बताएका छन् । जेठ १६ गते बसेको माओवादी केन्द्रको बैठकले यस्तो निर्णय गरेको थियो । त्यसैगरी, जेठ १९ गते बसेको रास्वपा संसदीय दलको बैठकले पनि उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्री लेखकमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि उनले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको थियो।

यदि सदन सुचारु भएमा प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। साथै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।

त्यस्तै, राष्ट्रियसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ र ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावहरू सभामा प्रस्तुत गर्ने कार्यसूची छ। तर, विपक्षीहरूको अवरोधको तयारीले आजको संसदीय कारबाही प्रभावित हुने देखिएको छ।

प्रकाशित : 3 June, 2025

प्रतिक्रिया दिनुहोस्