बजेटमाथि राष्ट्रियसभामा छलफल शुरू

काठमाडौं । जेठ २१, सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको अनुमान (वार्षिक बजेट) माथि राष्ट्रियसभामा छलफल शुरू भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै बजेटलाई सकेसम्म यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन खोजिएको बताउनुभयो ।
बजेटको आकार, विनियोजन कुशलता, स्रोत सदुपयोगलगायत विषयमा कुनै पनि कोणबाट कमी हुन नदिन सावधानी अपनाइएको उहाँले दाबी गर्नुभयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘बजेट यथार्थपरक हुन नसक्दा बजेटप्रति विश्वसनीयता र कार्यान्वयन पक्ष कमजोर हुने प्रशस्त उदाहरण छन् ।
बजेटको आकार, स्रोत व्यवस्थापन र खर्च प्रस्तावका हिसाबले यसलाई सकारात्मक रूपमा लिइएको छ भन्ने अपेक्षा हो ।’
उहाँले चालू आवको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २८ प्रतिशतको हाराहारीमा रहेको जनाउँदै यो बजेटले चालू खर्चलाई वाञ्छित सीमामा राख्न र पूँजीगत खर्च बढाउन प्रयास गरेको बताउनुभयो ।