राष्ट्रपति ट्रम्पको कडा कदम: १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

सहयात्रा टिभी

काठमाडौं । जेठ २२, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाई प्रमुख कारण देखाउँदै १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो निर्णय अमेरिकालाई “खतरनाक विदेशी तत्वहरूबाट” जोगाउने उनको चुनावी वाचाको हिस्सा भएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशअनुसार अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लाग्नेछ।

यसैगरी, राष्ट्रपति ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने अर्को घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

फक्स न्युजका अनुसार, यो यात्रा प्रतिबन्धको निर्णय आगामी जुन ९ देखि लागु हुनेछ। यद्यपि, अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरू, जुन ९ भन्दा अघि नै भिसा प्राप्त गरिसकेका व्यक्तिहरू, केही निश्चित भिसा श्रेणीहरूमा पर्नेहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने यस प्रतिबन्धबाट छुट दिइनेछ।

ह्वाइट हाउसका अधिकारीहरूले यो निर्णय अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने राष्ट्रपति ट्रम्पको चुनावी वाचा अनुसार भएको बताएका छन्। ह्वाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनले भनेकी छन्, ‘अमेरिकी जनतालाई हानि पुर्‍याउन चाहने खतरनाक विदेशी तत्वहरूबाट जोगाउन राष्ट्रपति ट्रम्पले आफ्नो प्रतिबद्धता पूरा गरिरहनुभएको छ।’ उनले यी प्रतिबन्धहरूलाई ‘साझा समझदारी’को कदमको संज्ञा दिँदै थपिन्, ‘यो निर्णय ती देशहरूमा लक्षित छ जसमा उचित जाँच प्रक्रिया छैन, भिसा अवधि नाघ्ने दर उच्च छ र खतरा सम्बन्धी सूचना आदानप्रदान गर्न असफल छन्।’

बुधबार राति पोस्ट गरिएको एक भिडियो सन्देशमा राष्ट्रपति ट्रम्पले कोलोराडोको बोल्डरमा हालै भएको आतंकवादी आक्रमणपछि यो यात्रा प्रतिबन्ध सम्बन्धी घोषणामा हस्ताक्षर गरिएको बताएका छन् । ‘कोलोराडोको बोल्डरको घटनाले हाम्रो देशमा प्रवेश गर्ने, ठीकसँग जाँच नगरी आएका विदेशी नागरिकहरूका साथै अस्थायी आगन्तुकका रूपमा आएर भिसा अवधि नाघ्नेहरूबाट उत्पन्न हुने चरम खतरालाई उजागर गरेको छ,’ राष्ट्रपति ट्रम्पले भने, ‘हामी त्यस्ता मानिसहरू चाहँदैनौं।’

उनले थपे, ‘२१ औं शताब्दीमा हामीले संसारका खतरनाक स्थानहरूबाट आएका भिसा अवधि नाघ्ने विदेशीहरूद्वारा एकपछि अर्को आतंकवादी हमला देखिरहेका छौं। (विपक्षीहरूको) खुकुलो नीतिका कारण, आज हाम्रो देशमा लाखौं अवैध आप्रवासी छन्, जो यहाँ हुनुहुँदैन।’

यो निर्णयबाट अफगानिस्तान सबैभन्दा बढी प्रभावित हुनसक्ने देखिएको छ, जहाँ विद्यार्थीहरूको भिसा अवधि नाघ्ने दर २९.३ प्रतिशत रहेको राष्ट्रपति ट्रम्पले औंल्याएका छन्। अफगानिस्तान हाल तालिबानको नियन्त्रणमा छ, जसलाई अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा राखेको छ।

त्यसैगरी, इरानले आतंकवादलाई सहयोग गर्ने र अमेरिकी अधिकारीहरूसँग सूचना आदानप्रदानमा सहयोग नगर्ने गरेको राष्ट्रपति ट्रम्पको आरोप छ। लिबिया, सोमालिया र यमनजस्ता देशहरूमा सुरक्षित कागजात जारी गर्न सक्ने सक्षम सरकार नभएको पनि उनको ठहर छ।

आफ्नो निर्णयको बचाउ गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामी त्यस्ता कुनै पनि देशबाट खुला आप्रवासन स्वीकार गर्न सक्दैनौं, जहाँबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरूको सुरक्षित र भरपर्दो जाँच तथा छानबिन सम्भव हुँदैन।’

उनले भने, ‘त्यसैले म आज एक नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु, जसअन्तर्गत यमन, सोमालिया, हाइटी, लिबिया र अन्य थुप्रै देशहरूमाथि यात्रा प्रतिबन्ध लगाइनेछ। हामी हाम्रो देशमा हानि पुर्याउन चाहने व्यक्तिहरूलाई प्रवेश गर्न दिनेछैनौं र अमेरिकालाई सुरक्षित राख्न हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन।’

प्रकाशित : 5 June, 2025

प्रतिक्रिया दिनुहोस्