सप्तकोशीमा बेपत्ता सशस्त्रका गोताखोरमध्ये एकको शव फेला, अर्काको खोजी जारी

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, सप्तकोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारीको अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका दुई जना गोताखोरमध्ये एक जनाको शव फेला परेको छ । शुक्रबार बिहानदेखि जारी खोजीका क्रममा एक जनाको शव भेटिए पनि उनको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रमा बिहीबार अपराह्न ३ बजेर १० मिनेटमा अभ्यासकै क्रममा सशस्त्र प्रहरीका जवान हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । उनीहरू बेपत्ता भएलगत्तै खोजी सुरु गरिए पनि शुक्रबार बिहानैबाट थप टोली परिचालन गरी खोजी कार्यलाई तीव्रता दिइएको हो ।

कसरी भयो घटना ?

मनसुनजन्य विपद्‌बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरीले देशैभर पूर्वतयारी अभ्यास सञ्चालन गरिरहेको छ । यही क्रममा बिहीबार बिहान ७:४५ बजेदेखि ५६ जनाको टोली कोशी नदीमा उद्धार अभ्यासका लागि खटिएको थियो । यही सिमुलेसन अभ्यासमा सहभागी राजवंशी र साउद नदीको तेज बहावमा परेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए भने साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए । उनीहरू दुवैले हालै २०८०/८१ सालमा गोताखोर तालिम पूरा गरी विभिन्न उद्धार कार्यमा खटिँदै आएका थिए ।

खोजीमा को-को छन् ?

बेपत्ता गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बलले आफ्ना अब्बल तथा अनुभवी फौज परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार करिब ६० जनाको विशेष सुरक्षा फौज खोजीमा खटाइएको छ ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जनाको विशेषज्ञ टोली बिहीबार राति नै घटनास्थलतर्फ पठाइएको छ । भण्डारी २०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका अनुभवी प्रशिक्षक हुन् ।

दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपीको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना र ६ नम्बर गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त डिएसपीकै कमान्डमा २० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।

अनुभवी प्रशिक्षक भण्डारीले कोशी नदीको बहाव, पानीको अवस्था र अन्य प्राविधिक पक्षहरू घटनास्थलमा नै नपुगी यकिन गर्न नसकिने बताएका छन् । उद्धारकर्ताहरूलाई नै जोखिममा पार्ने गरी भएको यो घटनाले विपद् पूर्वतयारी अभ्यासको संवेदनशीलता र जोखिमलाई उजागर गरेको छ ।

प्रकाशित : 6 June, 2025

प्रतिक्रिया दिनुहोस्