माधवमाथि मुद्दाबारे ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

काठमाडौं । जेठ २३, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा प्रचण्डले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ,’ उनले भने ।
‘अख्तियारले कुनै पनि प्रधानमन्त्री र मन्त्रिपरिषद्ले गर्ने निर्णय नीतिगत विषय आफ्नो अधिकारको क्षेत्र नभएको भनेको छ । ललिता निवास प्रकरण सम्बन्धमा बाबुराम भट्टराई र माधव नेपालको विषयमा जे प्रश्न उठेको थियो यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन त्यो क्याबिनेटले नै गरोस् भनेर अख्तियारले लेखेको चिठी म आफैंले हेरेको छु । तर अहिले त्यही अख्तियार माधवजीले गरेको नीतिगत निर्णयको विषयमा प्रवेश गरेको छ । यसले प्रश्न उठेको छ,’ प्रचण्डले भने ।
‘माधवजीको विषयमा स्वयं उहाँ नै आश्चर्यमा पर्नुभएको छ । उहाँले अदालतले न्याय दिन्छ म छिट्टै सफाइ पाएर फर्कन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि अदालतले पक्कै पनि न्याय गर्छ भन्ने लागेको छ,’ उनले भने ।
२०६४ सालदेखिका सबै प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन होस् भन्ने आफूहरूले चाहेको उनको भनाइ छ । यसरी छानबिन प्रक्रिया अगाडि बढाउँदा जो कोही पनि छानबिनको दायरामा आउने उनको भनाइ छ । तर नीतिगत र सैद्धान्तिक रूपले यो विषय ठिक होकि होइन भनेर बहस चाहिँ गर्नु जरुरी रहेको उनले बताए ।