अमेरिकाबाट डिपोर्ट गरिएका ४० नेपाली आज काठमाडौं आइपुग्दै

काठमाडौं । जेठ २५, अमेरिका सरकारले आफ्नो कडा आप्रवासी नीतिको कार्यान्वयनलाई तीव्रता दिँदै देश निकाल (डिपोर्ट) गरेका थप ४० नेपाली आज काठमाडौं आइपुग्दै छन् ।
अमेरिकी चार्टर्ड विमानमार्फत फर्काइएका करिब ४० जना नेपाली आज (आइतबार) अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रवक्ता एवं वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट नेपालीहरू डिपोर्ट हुन लागेको पुष्टि गरे। “डिपोर्टेसनबारे हामीलाई १०-१२ दिनअघि नै पत्राचार भएको थियो, तर विमान अवतरण नभएसम्म यकिन संख्या भन्न सकिन्न,” प्रवक्ता न्यौपानेले भने। यद्यपि, अध्यागमन स्रोतका अनुसार सुरुमा ४८ जनाको सूची भए पनि अन्तिम समयमा केही रोकिएकाले संख्या करिब ४० हुने अनुमान छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाले भिसा नियम उल्लंघन गर्ने, अवैध रूपमा बस्ने तथा अन्य आप्रवासन कानुन तोड्नेहरूमाथि देशव्यापी धरपकड र कारबाही तीव्र पारेको छ। आज आउन लागेका नेपालीहरूलाई ‘अमेरिकी आप्रवासन कानुन उल्लंघन’ गरेको कारण डिपोर्ट गरिएको पत्रमा उल्लेख भए पनि उनीहरू अवैध रूपमा प्रवेश गरेका हुन् वा भिसा अवधिभन्दा बढी बसेका हुन् भन्नेबारे स्पष्ट खुलाइएको छैन।
तथ्याङ्कअनुसार, सन् २०२५ को जनवरीदेखि मे महिनासम्मको अवधिमा मात्रै १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ, जुन विगतका वर्षहरूको तुलनामा निकै उच्च हो। डिपोर्ट हुनेमा दलाललाई मोटो रकम बुझाएर अवैध मार्ग हुँदै अमेरिका पुगेकाहरूको संख्या धेरै रहेको बताइन्छ। विमानस्थलमा अवतरणपछि मानव बेचबिखन नियन्त्रण ब्युरोले उनीहरूसँग सामान्य सोधपुछ गर्नेछ, तर अधिकांश पीडितले दलालविरुद्ध उजुरी दिन हिच्किचाउने हुँदा मानव तस्करीको जालो तोड्ने प्रयास प्रभावकारी हुन सकेको छैन।